संशोधित विधानको धारा ६८ लाई लिएर रास्वपामा खैलाबैला, प्रधानमन्त्री बालेन समूह सशङ्कित

09 July, 2026 50 Views
संशोधित विधानको धारा ६८ लाई लिएर रास्वपामा खैलाबैला, प्रधानमन्त्री बालेन समूह सशङ्कित
50
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र संशोधित विधान र सरकारको कार्यशैलीलाई लिएर आन्तरिक असन्तुष्टि र शक्ति सङ्घर्ष चुलिएको छ। पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनबाट पारित संशोधित विधानको धारा ६८ (१) (ङ) मा पार्टी सभापतिले दिएको नीतिगत मार्गनिर्देशन पालना नगरेमा संसदीय दलको नेता स्वतः पदमुक्त हुने र फिर्ता बोलाउन (प्रत्याह्वान) सकिने नयाँ व्यवस्था राखिएपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र उनको समूह गम्भीर रूपमा सशङ्कित बनेका हुन्। 
 यो प्रावधानले सरकार प्रमुखको रूपमा रहेका प्रधानमन्त्री बालेन शाहको निर्णयक क्षमतालाई अङ्कुश लगाउने र सभापति रवि लामिछानेको हातमा अत्यधिक शक्ति केन्द्रित गर्ने रणनीति अनुरूप ल्याइएको भन्दै बालेन समूहले यसलाई गम्भीर षडयन्त्रको सङ्केतका रूपमा हेरेको छ।
पार्टीभित्र गुटबन्दी र तीव्र असन्तुष्टि बढ्दै गएको स्पष्ट सङ्केत पाएपछि महाधिवेशनको बन्दसत्र तथा अभिमुखीकरण कार्यक्रमहरूमा सभापति रवि लामिछाने र वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री बालेन शाहले नेता तथा कार्यकर्ताहरूलाई आन्तरिक गुटबन्दीमा नलाग्न र पार्टीको मर्यादा कायम राख्न सार्वजनिक रूपमै आग्रह गरेका थिए।
विधान मस्यौदा कार्यदलमा रहेका सदस्यहरू र पदाधिकारी छनोटका क्रममा भएका आन्तरिक खिचातानीले गर्दा महाधिवेशन सकिएलगत्तै रास्वपाभित्र संस्थापन पक्ष र सरकार सञ्चालन गरिरहेको बालेन समूहबिचको दूरी झन् बढेको छ, जसले गर्दा दलभित्रको आन्तरिक अनुशासन र सत्ता समीकरणमा समेत नयाँ तरङ्ग पैदा हुन सक्ने राजनीतिक विश्लेषकहरूको अनुमान छ।

Related Post