शिक्षक महासंघको नेतृत्व अब सबै शिक्षकले प्रत्यक्ष छान्न पाउने

14 August, 2026 61 Views
शिक्षक महासंघको नेतृत्व अब सबै शिक्षकले प्रत्यक्ष छान्न पाउने
61

काठमाडौं । सरकारले नेपाल शिक्षक महासंघको विधान संशोधन गरी नेतृत्व चयन प्रक्रियामा व्यापक परिवर्तन गर्ने तयारी गरेको छ । नयाँ व्यवस्थाअनुसार देशभरका सबै शिक्षकले प्रत्यक्ष रूपमा महासंघको नेतृत्व चयन गर्न पाउने व्यवस्था गर्न लागिएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बताएका छन् ।

शुक्रबार शिक्षा मन्त्रालयमा सञ्चार माध्यमका सम्पादक तथा न्युजरुम नेतृत्वकर्तासँगको अनौपचारिक छलफलमा मन्त्री पोखरेलले शिक्षक महासंघको विधान संशोधन प्रक्रिया अघि बढेको जानकारी दिए ।

हालको व्यवस्थामा विभिन्न शिक्षक संघ–संगठनले तोकेका प्रतिनिधिबाट महासंघको नेतृत्व चयन हुने भएकाले कुनै संगठनमा आबद्ध नभएका शिक्षकको प्रतिनिधित्व हुन नसकेको गुनासो आएको उनले बताए ।

‘शिक्षक महासंघको विधानमा संशोधनको प्रक्रिया अघि बढेको छ । अहिले केही संघ संगठनले तोकेका प्रतिनिधिले नेतृत्व गर्ने भएकाले कुनै संगठनमा नभएका शिक्षकहरूको प्रतिनिधित्व हुन नसकेको गुनासो आयो,’ मन्त्री पोखरेलले भने, ‘अब सबै शिक्षकले प्रत्यक्ष रूपमा नेतृत्व चुन्ने व्यवस्था गर्न लागेका छौँ ।’

शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर न्यौपानेको कार्यकाल सकिएपछि नयाँ व्यवस्थाअनुसार देशभरका सबै शिक्षकले नेतृत्व चयन गर्न पाउने व्यवस्था लागू गर्ने सरकारको तयारी छ ।

सरकारले शिक्षकसँग सम्बन्धित राजनीतिक ट्रेड युनियन खारेज गरे पनि शिक्षक महासंघको व्यवस्था शिक्षा ऐनमै रहेकाले यसको विधान संशोधन गर्न लागिएको हो ।

यसैबीच, मन्त्री पोखरेलले शिक्षक महासंघका अध्यक्षले भदौदेखि शिक्षक आन्दोलन गर्ने बताएको विषयमा आफूले तत्काल त्यस्तो अवस्था नदेखेको बताए ।

उनले शिक्षा विधेयकमार्फत शिक्षक महासंघ, विद्यालय कर्मचारी तथा राहत शिक्षकका मागसमेत समेटेर कानुन बनाउने तयारी भइरहेको जानकारी दिए ।

Related Post