शंखमुलको ब्वाइज होस्टलमा झगडा, धारिलो हतियार प्रहारबाट २२ वर्षीय युवकको मृत्यु

21 August, 2026 64 Views
शंखमुलको ब्वाइज होस्टलमा झगडा, धारिलो हतियार प्रहारबाट २२ वर्षीय युवकको मृत्यु
64

काठमाडौं । काठमाडौंको शंखमुलस्थित ब्वाइज होस्टलमा भएको झगडा ज्यान जाने घटनामा परिणत भएको छ । होस्टलमै बस्ने युवाबीच भएको विवादमा धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका २२ वर्षीय वसन्त कालाथोकीको उपचारका क्रममा मृत्यु भएको हो ।

दाङको घोराही उपमहानगरपालिका–१७ घर भएका कालाथोकीलाई सोही होस्टलमा बस्ने बाराको कलैया उपमहानगरपालिका–३ का १८ वर्षीय शेखर यादव र २० वर्षीय प्रमित पटेलले कुटपिट गर्दै धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ ।

घटनामा गम्भीर घाइते भएका कालाथोकीलाई तत्काल मीनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो । उनको टाउको र घाँटीमा गम्भीर चोट लागेको थियो । उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

घटनामा संलग्न रहेको आरोपमा १८ वर्षीय शेखर यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । फरार रहेका २० वर्षीय प्रमित पटेलको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घटना के कारणले भयो भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Related Post