शरण माग्ने भिसाधारीमाथि ट्रम्पको कडा नीति, २ लाखसम्म भिसा रद्द हुने

25 August, 2026 6 Views
शरण माग्ने भिसाधारीमाथि ट्रम्पको कडा नीति, २ लाखसम्म भिसा रद्द हुने
6

काठमाडौं । अमेरिकी सरकारले पर्यटक तथा व्यापारिक प्रयोजनका लागि जारी गरिएका २ लाखसम्म बी–वान र बी–टु भिसा रद्द गर्ने तयारी गरेको छ। निर्णय कार्यान्वयन भएमा अमेरिकी इतिहासमै एकैपटक ठूलो संख्यामा भिसा रद्द हुने सम्भावना छ।

अमेरिकी विदेश विभागले सन् २०१६ देखि २०२६ सम्म बी–वान/बी–टु भिसामा अमेरिका प्रवेश गरी पछि शरणका लागि आवेदन दिएका वा प्रक्रियामा रहेका विदेशी नागरिकको भिसा रद्द गर्ने तयारी गरेको हो।

विदेश विभागका प्रवक्ता टमी पिगोटका अनुसार पर्यटक वा व्यवसायीका रूपमा अमेरिका प्रवेश गरेपछि स्थायी बसोबासका लागि शरण माग्नेहरू कारबाहीको दायरामा पर्नेछन्।

भिसा रद्द हुँदैमा तत्काल देशनिकाला होइन

भिसा रद्द हुनुको अर्थ सम्बन्धित व्यक्तिलाई तत्काल अमेरिकाबाट निकाल्नु भने होइन। तर, उनीहरूको पर्यटक वा व्यापारिक यात्राका लागि जारी बी–वान/बी–टु भिसा भने समाप्त हुनेछ।

ट्रम्प प्रशासनले पछिल्लो समय अमेरिकी भिसा तथा अध्यागमन नीति थप कडा बनाउँदै आएको छ। यसअघि भिसा आवेदकसँग सामाजिक सञ्जाल विवरण माग्ने, भिसा बन्ड लागू गर्ने तथा केही देशका नागरिकमाथि प्रतिबन्ध लगाउने कदम चालिएको छ।

विदेश विभागका अनुसार पछिल्लो १८ महिनामा करिब १ लाख ७५ हजार भिसा रद्द भइसकेका छन्। प्रस्तावित नयाँ कारबाहीबाट कति जना प्रभावित हुनेछन् भन्ने यकिन संख्या भने सार्वजनिक गरिएको छैन।

Related Post