काठमाडौँ । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालबाट अपहरणमा परेको नवजात शिशुको प्रहरीले १६ घण्टामै सकुशल उद्धार गरेको छ।
भदौ १४ गते अपराह्न करिब ४ बजे अस्पतालबाट हराएको शिशुलाई प्रहरीले सोमबार दिउँसो १ बजे वीरगञ्ज महानगरपालिका–१६ बाट उद्धार गरेको हो।
प्रहरीका अनुसार शिशुलाई सुत्केरी कुरुवा कोठाबाट आफन्तसँग खेलाउने भन्दै बाहिर लगिएको थियो। त्यसपछि शिशुलाई आफ्नै घरमा लगेर राखिएको खुलेको छ।
सूचना प्राप्त भएलगत्तै प्रहरीले सीमावर्ती नाकामा निगरानी बढाउनुका साथै अस्पतालभित्र र बाहिरका सीसीटीभी फुटेजको विश्लेषण गरेर अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा शिशु वीरगञ्ज–१६ बस्ने २७ वर्षीया सबिना खातुनसँग रहेको खुलेपछि जिल्ला प्रहरी कार्यालय पर्साका एसपी पवनकुमार भट्टराई नेतृत्वको टोलीले उनको कोठाबाट शिशुको उद्धार गरेको हो।
शिशुलाई उद्धारपछि सर्लाहीकी आमाको जिम्मा लगाइएको छ भने खातुनलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा खातुनले शिशुलाई आफ्नै बनाउने उद्देश्यले अपहरण गरेको देखिएको छ। प्रहरीले समयमै अनुसन्धान र कारबाही अघि बढाउन नसकिएको भए घटना गम्भीर बन्न सक्ने जनाएको छ।