टेकुमा ग्यास लिन हजारौँको भीड, निगमको दाबीमाथि प्रश्न

03 August, 2026 12 Views
टेकुमा ग्यास लिन हजारौँको भीड, निगमको दाबीमाथि प्रश्न
12

काठमाडौँ । नेपाल आयल निगमले एलपी ग्यासको अभाव नरहेको दाबी गरिरहे पनि काठमाडौँको टेकुस्थित नेशनल ट्रेडिङ शाखामा ग्यास लिन सर्वसाधारणको लामो लाइन लागेको छ। सुगम, नेपाल, एभरेस्ट, राजधानी, त्रिवेणीलगायत विभिन्न कम्पनीका रित्ता सिलिन्डर बोकेर उपभोक्ता बिहानदेखि पालो कुरिरहेका छन्।

नेशनल ट्रेडिङले बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म मात्र ग्यास वितरण गर्ने व्यवस्था गरेकाले हजारौँ उपभोक्ता घाम, पानी र हिलोको समेत प्रवाह नगरी लाइनमा बस्न बाध्य भएका छन्। कतिपय उपभोक्ता सिलिन्डरमै बसेर पालो पर्खिरहेको दृश्य पनि देखिएको छ।

नेपाल आयल निगमले भारतबाट ग्यास नियमित रूपमा भित्रिरहेको र आपूर्तिमा कुनै समस्या नरहेको दाबी गर्दै आवश्यकता भन्दा बढी ग्यास सञ्चय गर्ने प्रवृत्ति तथा केही डिलरले कृत्रिम अभाव सिर्जना गर्दा यस्तो अवस्था आएको जिकिर गरेको छ।

तर स्थानीय डिलरमा ग्यास नपाएपछि टेकु पुगेका उपभोक्ताले निगमको दाबी र वास्तविक अवस्था नमिलेको भन्दै आक्रोश व्यक्त गरेका छन्। उनीहरूले टोकन वा अनलाइन दर्ता प्रणालीमार्फत वितरण गर्न तथा कालोबजारी र कृत्रिम अभाव रोक्न प्रभावकारी बजार अनुगमन गर्न माग गरेका छन्। उपभोक्ता अधिकारकर्मीहरूले पनि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग समन्वय गरी बजार अनुगमन कडा बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

 
 

Related Post