टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान,२१ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा

04 June, 2026 114 Views
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान,२१ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा
114

काठमाडौं । चर्चित टिकटक प्रयोगकर्ता (टिकटकर) तुलसा अधिकारीलाई अदालतले पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश टेकनाथ गौतमको इजलासले अधिकारीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होबिन्द्र बोगटीका अनुसार अदालतको आदेश लगत्तै अधिकारीलाई ललितपुरको नख्खु कारागार चलान गर्ने तयारी गरिएको छ।

यो मुद्दाको सुरुवात कुमार चिमोरियाको जाहेरीबाट भएको हो। चिमोरियाले २०८२ साउन २४ गते अधिकारी र अशोककुमार अग्रवालसहितका व्यक्तिहरूले आफूलाई ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी (जाहेरी) दिएका थिए।

नेपाल सरकार वादी रहेको यस मुद्दामा टिकटकर अधिकारी र अग्रवालसहित कुल १० जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूविरुद्ध अपराधिक लाभ (एक्सटर्सन),संगठित अपराध,सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) जस्ता गम्भीर प्रकृतिका कसुरहरूमा मुद्दा दायर गरिएको छ।

प्रहरी र अनुसन्धान अधिकारीहरूका अनुसार टिकटकर तुलसा अधिकारीको नाममा रहेको २१ करोड रुपैयाँ बराबरको सम्पत्तिको वैधानिक स्रोत खुल्न सकेको छैन। बैंकिङ च्यानल र आम्दानीको वैधानिक माध्यमभन्दा बाहिरबाट उक्त रकम आर्जन गरिएको आशंकामा उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा समेत थपिएको हो।

ठगी र संगठित अपराधको मुद्दा दायर भएपछि अधिकारी २०८२ भदौ महिनादेखि फरार थिइन्। नेपालबाट फरार भई उनी चीन हुँदै थाइल्याण्ड पुगेकी थिइन्। उनी विदेशमा लुकेर बसेको सूचनाका आधारमा नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले 'रेड नोटिसवा समन्वयका आधारमा उनलाई शुक्रबार थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याएको थियो।

Related Post