काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सीपमूलक तालिमको सफलता तत्काल मापन गर्न नसकिने बताउँदै त्यसबाट प्राप्त ज्ञानलाई पेशा र आयआर्जनसँग जोड्न सकेमा मात्र वास्तविक उपलब्धि देखिने बताएकी छन्।
काठमाडौं महानगरपालिकाको सहयोग र चलचित्र विकास बोर्डको आयोजनामा जेठ २२ देखि असार २२ गतेसम्म सञ्चालन भएको ३० दिने ‘फोटोग्राफी तथा फोटो/भिडियो पत्रकारिता तालिम’को समापन समारोहमा बोल्दै डंगोलले महानगरले सञ्चालन गर्ने तालिमहरू केवल प्रमाणपत्रका लागि नभई व्यावहारिक उपयोगका लागि भएको स्पष्ट पारिन्।
उनले तालिमपछि सहभागीहरूले सिकेका सीपलाई जीवन र रोजगारीसँग जोडेर व्यावसायिक रूपमा अघि बढाउनुपर्नेमा जोड दिँदै महानगरले रोजगारी तथा आयवृद्धिलाई लक्षित गरी यस्ता कार्यक्रम सञ्चालन गरिरहेको बताइन्।
डंगोलले काठमाडौं महानगरपालिकाले चलचित्रलाई केवल मनोरञ्जनको क्षेत्रका रूपमा नभई कला, संस्कृति, सम्पदा, संगीत र स्थानीय कथावस्तुको प्रवर्द्धन गर्ने प्रभावकारी माध्यमका रूपमा लिएको उल्लेख गरिन्। महानगर र चलचित्र विकास बोर्डबीचको सहकार्य पनि यही उद्देश्यअनुसार भएको उनको भनाइ थियो।
समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले काठमाडौं महानगरपालिकासँग सहकार्य गर्दै आगामी दिनमा पनि यस्ता सीपमूलक तालिम सञ्चालन गर्न बोर्ड तयार रहेको बताए। चलचित्र क्षेत्र सबैको साझा भएकाले बोर्डले सम्बन्धित निकायहरूबीच सेतुको भूमिका निर्वाह गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता पनि उनले व्यक्त गरे।