काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा दिन एमालेले दबाब दिएको छ। शनिबार विराटनगर पुगेका एमालेका केन्द्रीय सचिव तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले कार्कीसँग भेट गरी पदबाट हट्न आग्रह गरेका हुन्।
तर मुख्यमन्त्री कार्कीले पार्टीको संस्थागत निर्णय नआएसम्म राजीनामा नदिने अडान दोहोर्याएको स्रोतले जनाएको छ। उनले आफू विधि र प्रक्रियाअनुसार अघि बढ्ने स्पष्ट पारेका छन्।
विराटनगर पुगेपछि राईले प्रदेश सांसदहरूसँग छलफल गर्दै नयाँ सरकार गठनको तयारी सुरु भएको संकेत दिएका छन्। उनले हालको सरकारको निरन्तरताबारे आएका समाचार सही नभएको भन्दै नयाँ निर्णय आउने बताएका छन्।
संविधानको धारा १६८(५) अनुसार नियुक्त भएका कार्कीले राजीनामा नदिएसम्म उनलाई पदबाट हटाउन नसकिने कानुनी व्यवस्था भएकाले एमालेलाई नेतृत्व परिवर्तनमा कठिनाइ परेको छ। कार्की २०८१ वैशाख २७ गते एमाले र माओवादीका ५२ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए।