रवि लामिछानेसँग वार्तामा बसेका र गृहमन्त्रीलाई मागपत्र बुझाएका व्यक्ति रास्वपासँग आबद्ध

02 August, 2026 14 Views
रवि लामिछानेसँग वार्तामा बसेका र गृहमन्त्रीलाई मागपत्र बुझाएका व्यक्ति रास्वपासँग आबद्ध
14
 

काठमाडौं । सुनसरीमा साम्प्रदायिक तनाव चर्किएका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हिन्दू र मुस्लिम समुदायका अगुवाबीच संवादको पहल गरेका थिए। उक्त वार्तापछि दुवै समुदायका प्रतिनिधिले संयुक्त अपिल जारी गर्दै सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका थिए। वार्तापछि हिन्दू र मुस्लिम समुदायका अगुवाले हात मिलाएको तस्बिर सार्वजनिक भएपछि त्यसलाई सकारात्मक पहलका रूपमा हेरिएको थियो।

यसैबीच, उक्त वार्तामा हिन्दू पक्षका प्रतिनिधिका रूपमा सहभागी दुई जनामध्ये एक जना रास्वपासँग पनि आबद्ध रहेको खुलेको छ। उनी राजुराज फुँयाल हुन्।

फुँयाल हालै चितवनमा सम्पन्न रास्वपाको महाधिवेशनमा केन्द्रीय सदस्य पदका उम्मेदवार थिए। त्यसअघि उनी पार्टीको स्टार्टअप विभागमा आबद्ध रहेका थिए। उनी विभाजित विश्व हिन्दू महासंघको एक समूहसँग पनि आबद्ध छन्।

फुँयालले नेपाल प्रेससँग कुरा गर्दै आफू विश्व हिन्दू महासंघको सचिवालय सदस्यको हैसियतमा वार्तामा सहभागी भएको बताएका छन्। उनका अनुसार महासंघका महासचिव रामचन्द्र तिवारीसँगै उनी वार्तामा बसेका थिए। छोटो समयमा वार्ताको तयारी भएकाले महासंघका अध्यक्ष उपस्थित हुन नसकेको उनको भनाइ छ।

उनले वार्ताको उद्देश्य तनावग्रस्त अवस्थालाई सामान्य बनाउनु रहेको उल्लेख गर्दै संवादपछि चितवनमा आह्वान गरिएको बन्द फिर्ता लिइएको दाबी गरेका छन्। उनका अनुसार वार्ताले दुवै समुदायबीच विश्वासको वातावरण बनाउन सहयोग पुगेको थियो।

फुँयालले आफू रास्वपासँग आबद्ध रहेको स्वीकार गर्दै हाल साधारण सदस्य मात्र रहेको बताएका छन्। उनले आफ्नो पार्टीसँगको सम्बन्ध राजनीतिकभन्दा पनि आध्यात्मिक दृष्टिकोणबाट रहेको दाबी गरेका छन्। रास्वपाभित्र आफूले सनातन दर्शन र वैज्ञानिक आध्यात्मिक विश्वविद्यालयको अवधारणा अघि सारेको पनि उनले बताएका छन्।

यता, धनुषामा गृहमन्त्री सुधन गुरुङलाई संयुक्त हिन्दू मोर्चाका तर्फबाट बुझाइएको मागपत्रमा पनि रास्वपाका स्थानीय नेता शनी भगतको संलग्नता देखिएको बताइएको छ। भगत जनकपुर उपमहानगरपालिका–८ का रास्वपा वडा सभापति हुन्।

समाचारअनुसार गृहमन्त्रीलाई मागपत्र बुझाउने मुख्य व्यक्तिमध्ये भगत पनि थिए। उनले हिन्दु सम्राट सेनाको प्रतिनिधिका रूपमा मागपत्रमा हस्ताक्षर गरेका थिए। उक्त मागपत्रमा नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नेदेखि प्रधानमन्त्रीका सल्लाहकार असिम साहलाई पदबाट हटाउनुपर्ने लगायतका माग समेटिएका थिए।

यद्यपि, हिन्दु सम्राट सेना नेपालका एक सदस्यलाई उद्धृत गर्दै नेपाल प्रेसले भगत उक्त संगठनका सक्रिय सदस्य नरहेको र वार्ताका लागि संगठनले उनलाई प्रतिनिधिका रूपमा नपठाएको दाबी गरेको छ।

यस विषयमा रास्वपा, विश्व हिन्दू महासंघ तथा हिन्दु सम्राट सेनाको आधिकारिक धारणा भने सार्वजनिक भइसकेको छैन।

 
 
 

Related Post