२३ असार, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साविकका राष्ट्रियस्तरका निजामती कर्मचारी ट्रेड युनियन तथा कर्मचारी संगठनहरूले प्रयोग गर्दै आएका सरकारी भवन तथा संरचना तीन दिनभित्र खाली गर्न निर्देशन दिएको छ।
मन्त्रालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र भवन तथा अन्य संरचना पूर्ण रूपमा खाली गरी कागजात, सरकारी सम्पत्तिको जिम्मेवारी तथा भवनको साँचो मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा बुझाउन सम्बन्धित संगठनहरूलाई निर्देशन दिएको हो।
मन्त्रालयका अनुसार नेपाल सरकारले २०८३ वैशाख २० गते नेपाल राजपत्रमा प्रकाशित ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३’ मार्फत निजामती सेवा ऐन, २०४९ अन्तर्गत रहेको निजामती कर्मचारीहरूको ट्रेड युनियनसम्बन्धी व्यवस्था खारेज गरिसकेको छ। सोही कानुनी व्यवस्थाअनुसार सरकारी भवन तथा संरचना फिर्ता लिन लागिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले तोकिएको समयसीमाभित्र भवन तथा संरचना खाली नगरे प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ। साथै, सम्बन्धित संगठनले प्रयोग गरिरहेका भवनहरूमा जिल्ला प्रशासन कार्यालयको रोहवरमा सूचना टाँसिएको पनि मन्त्रालयले जनाएको छ।
सूचनाअनुसार स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च, नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, नेपाल स्वास्थ्यकर्मी संघ तथा मधेशी स्वास्थ्यकर्मी फोरम नेपाललगायतका संगठनहरूले प्रयोग गर्दै आएका सरकारी भवन तथा संरचना खाली गर्नुपर्नेछ।