काठमाडौं । बजारमा उपभोग्य वस्तुको मूल्य उल्लेख्य रूपमा बढेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको असार महिनाको मूल्य विश्लेषण प्रतिवेदनअनुसार वैशाखको तुलनामा असारमा सानो स्थानीय गोलभेडाको मूल्य २५३ प्रतिशत, बुलेट खुर्सानीको १७९ प्रतिशत र दशहरी आँपको १६० प्रतिशतले बढेको छ ।
विभागले काठमाडौं उपत्यकासहित विराटनगर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र धनगढीका बजारको मूल्य विश्लेषण गरेको हो ।
प्रतिवेदनअनुसार तरकारीमा मात्रै नभई चामल, अण्डा र चिनीको मूल्यसमेत बढेको छ । अण्डाको मूल्यमा उत्पादन लागत र बर्ड फ्लुको त्रासले प्रभाव पारेको विभागको विश्लेषण छ ।
बजारमा मूल्य बढ्नुका प्रमुख कारणमा बिचौलियाको धेरै तह, ढुवानी खर्च, कृत्रिम अभाव र उत्पादक तथा उपभोक्ताबीचको ठूलो मूल्य अन्तरलाई विभागले औंल्याएको छ । पेट्रोलियम पदार्थको मूल्य स्थिर रहे पनि ढुवानीकर्ता र थोक विक्रेताले त्यसको लाभ उपभोक्तासम्म नपुर्याएको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, अमेरिकी डलरको विनिमय दर बढ्दा आयातित चामल, चिनी तथा अन्य औद्योगिक कच्चा पदार्थको लागतसमेत बढेको विभागले जनाएको छ । असारमा डलरको खरिद दर १ सय ५३ रुपैयाँ २५ पैसासम्म पुगेको थियो ।
मूल्यवृद्धि नियन्त्रण गर्न विभागले अब उत्पादन वा आयात बिन्दुदेखि उपभोक्तासम्मको मूल्य शृङ्खला अध्ययन गर्ने भएको छ । यसबाट बिचौलियाका अनावश्यक तह पहिचान गरी घटाउने विभागको योजना छ ।
विभागले बजार अनुगमनलाई थप कडाइ गर्ने, वस्तुको अधिकतम खुद्रा मूल्य अनिवार्य रूपमा अंकित गर्न लगाउने तथा सिन्डिकेट र कार्टेलिङ गर्ने व्यवसायीमाथि कानुनी कारबाही गर्ने जनाएको छ ।