टर्किस एयरलाइन्सको जहाजको चक्कामा आगो, सबै यात्रु सुरक्षित

11 May, 2026 354 Views
टर्किस एयरलाइन्सको जहाजको चक्कामा आगो, सबै यात्रु सुरक्षित
354

काठमाडौं, २८ वैशाख

आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा टायरमा आगलागी भएको छ। इस्तानबुलबाट आएको उडान नम्बर TK726 को जहाज बिहान करिब ६:४५ बजे अवतरण गर्ने क्रममा सो घटना भएको हो।

आगलागी कारण अवतरणका क्रममा टायर पड्किएर घर्षण हुँदा जहाजको दाहिनेतर्फको चक्कामा आगो लागेको थियो भन्ने अनुमान छ।

जहाजमा सवार २७३ यात्रु र ११ चालक दलका सदस्य (कुल २८४ जना) लाई 'इभ्याकुएसन स्लाइड' मार्फत सुरक्षित बाहिर निकालिएको छ। सबै यात्रुहरू सकुशल छन्।विमानस्थलको दमकल र उद्धार टोलीले तत्कालै आगो नियन्त्रणमा लिएका थिए।

घटना लगत्तै अवरुद्ध भएको विमानस्थल करिब डेढ घण्टापछि बिहान ८:३० बजेदेखि पुनः सञ्चालनमा आएको छ। रनवेमा जहाज अड्किएका कारण कतार एयरवेज, फ्लाई दुबई र नेपाल एयरलाइन्स लगायतका उडानहरू केही समय आकाशमै 'होल्ड' भएका थिए।

अहिले नागरिक उड्डयन प्राधिकरण र प्राविधिक टोलीले जहाजको जाँच गरिरहेका छन्। उडान तालिकामा केही ढिलाइ भए पनि विमानस्थलको सेवा अहिले सामान्य रूपमा सुचारु भइसकेको छ।

Related Post