काठमाडौं, २८ वैशाख
आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा टायरमा आगलागी भएको छ। इस्तानबुलबाट आएको उडान नम्बर TK726 को जहाज बिहान करिब ६:४५ बजे अवतरण गर्ने क्रममा सो घटना भएको हो।
आगलागी कारण अवतरणका क्रममा टायर पड्किएर घर्षण हुँदा जहाजको दाहिनेतर्फको चक्कामा आगो लागेको थियो भन्ने अनुमान छ।
जहाजमा सवार २७३ यात्रु र ११ चालक दलका सदस्य (कुल २८४ जना) लाई 'इभ्याकुएसन स्लाइड' मार्फत सुरक्षित बाहिर निकालिएको छ। सबै यात्रुहरू सकुशल छन्।विमानस्थलको दमकल र उद्धार टोलीले तत्कालै आगो नियन्त्रणमा लिएका थिए।
घटना लगत्तै अवरुद्ध भएको विमानस्थल करिब डेढ घण्टापछि बिहान ८:३० बजेदेखि पुनः सञ्चालनमा आएको छ। रनवेमा जहाज अड्किएका कारण कतार एयरवेज, फ्लाई दुबई र नेपाल एयरलाइन्स लगायतका उडानहरू केही समय आकाशमै 'होल्ड' भएका थिए।
अहिले नागरिक उड्डयन प्राधिकरण र प्राविधिक टोलीले जहाजको जाँच गरिरहेका छन्। उडान तालिकामा केही ढिलाइ भए पनि विमानस्थलको सेवा अहिले सामान्य रूपमा सुचारु भइसकेको छ।