काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने युद्धविराम तत्काल लागू हुने घोषणा गरेका छन्। तर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सम्झौताका विस्तृत विवरण प्राप्त नभइसकेको बताएका छन्।
ट्रम्पले आइतबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत दुवै देश ऊर्जा युद्धविराममा सहमत भएको दाबी गरेका हुन्। यद्यपि, रुसले उनको घोषणाबारे औपचारिक प्रतिक्रिया दिएको छैन भने युक्रेनले पनि सम्झौताको विवरण सार्वजनिक गरेको छैन।
जेलेन्स्कीले युक्रेन युद्धविरामको पक्षमा रहेको बताउँदै रुसले पनि प्रतिबद्धता पालना गर्नुपर्नेमा जोड दिएका छन्। उनले अमेरिकी पक्षबाट थप जानकारीको प्रतीक्षा गरिरहेको उल्लेख गरेका छन्।
तर ट्रम्पको घोषणापछि पनि रुसी सेनाले युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण गरेको जेलेन्स्कीको आरोप छ। उनका अनुसार खार्किभस्थित ताप तथा विद्युत् उत्पादन केन्द्रमा समेत आक्रमण भएको थियो।
यसअघि ट्रम्पले युक्रेनलाई रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण रोक्न दबाब दिएका थिए। उनले युक्रेनमा निर्वाचन गराउनसमेत आग्रह गर्दै आएका छन्। जवाफमा जेलेन्स्कीले रुसले ६० दिनको पूर्ण युद्धविराम सुनिश्चित गरे निर्वाचन गराउन तयार रहेको बताएका छन्।
युक्रेनमा सैनिक शासन लागू रहेकाले हालको कानुनी व्यवस्थाअनुसार निर्वाचन गर्न रोक छ। यसबीच, ऊर्जा युद्धविरामको घोषणा कार्यान्वयन हुन्छ वा हुँदैन भन्ने विषयमा अन्योल कायम छ।