अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको वार्तामा ओमानले अवरोध सिर्जना गरे कडा सैन्य कारबाही गर्ने चेतावनी दिएका छन्। बीबीसीका अनुसार ट्रम्पले फक्स न्युजसँगको फोन अन्तर्वार्ताका क्रममा ओमानमाथि बमबारी गर्ने धम्की दिएका हुन्।
अमेरिका र ओमानले इरानसँग छुट्टाछुट्टै वार्ता गर्दै स्ट्रेट अफ हर्मुज पुनः खोल्ने प्रयास गरिरहेका छन्। विश्वको तेल तथा ग्यास आपूर्तिका लागि महत्वपूर्ण मानिने यो जलमार्ग लामो समयदेखि बन्द रहेको बताइएको छ।ट्रम्पले इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरसँग अमेरिकाको प्रत्यक्ष गोप्य सम्पर्क रहेको दाबीसमेत गरेका छन्। तर इरानी गार्डका प्रवक्ताले उक्त दाबी अस्वीकार गरेका छन्।
यसैबीच, इरानी अधिकारीहरूले ओमानसँगको सम्झौता अन्तिम चरणमा पुगेको बताएका छन्। अमेरिका–इरानबीचको ६० दिने समझदारीको अवधि सकिन लागे पनि त्यसलाई थप गर्न ट्रम्पले अस्वीकार गरेका छन्।फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि इरानले स्ट्रेट अफ हर्मुज बन्द गरेको बताइएको छ।
विश्वमा खपत हुने तेल तथा ग्यासको करिब पाँच भागको एक भाग यही जलमार्ग हुँदै ओसारपसार हुने भएकाले यसको अन्तर्राष्ट्रिय अर्थतन्त्रमा ठूलो महत्व छ। ओमान भने युद्धमा तटस्थ रहँदै आएको छ।