त्रिशूली–३ बीमा फसेका १३ जनाको अवस्था अज्ञात, परिवारको सरकारसँग आग्रह– ‘हाम्रो मान्छे खोजिदेऊ’

07 September, 2026 106 Views
त्रिशूली–३ बीमा फसेका १३ जनाको अवस्था अज्ञात, परिवारको सरकारसँग आग्रह– ‘हाम्रो मान्छे खोजिदेऊ’
106

काठमाडौँ । गत साताको भीषण बाढीपहिरोपछि नुवाकोटस्थित त्रिशूली–३ बी जलविद्युत् आयोजनाको क्याम्पमा फसेका वरिष्ठ भूगर्भविद् ५४ वर्षीय सुमेस अमात्यसहित १३ जना कर्मचारी अझै सम्पर्कविहीन छन्। उद्धारका लागि आवश्यक दक्ष जनशक्ति, अत्याधुनिक उपकरण र हेलिकप्टरको पर्याप्त व्यवस्था नभएको भन्दै बेपत्ताका परिवारले सोमबार माइतीघरमा प्रदर्शन गर्दै तत्काल सुरक्षा निकाय परिचालन गरी प्रभावकारी खोज तथा उद्धार गर्न सरकारसँग माग गरेका छन्।

अमात्यकी पत्नी सुमना श्रेष्ठ र बहिनीसहितका आफन्तले सरकारले उद्धारमा ढिलाइ गरेको भन्दै आक्रोश व्यक्त गरेका हुन्। उनीहरूले समय बित्दै जाँदा बेपत्ताहरूको जीवन जोखिममा पर्न सक्ने भन्दै उद्धारलाई तीव्रता दिन आग्रह गरेका छन्।

सुमना श्रेष्ठका अनुसार बाढी आएको दिनदेखि नै अमात्यसहित १३ जना आयोजनाको भवनभित्र फसेका छन्। उनीहरूको अवस्था अहिलेसम्म अज्ञात रहेको परिवारको भनाइ छ।

उद्धारबारे जानकारी लिन गृह मन्त्रालय पुग्दा समेत आफूहरूले स्पष्ट जानकारी र अपेक्षित सहयोग नपाएको श्रेष्ठले गुनासो गरिन्। उनले आफूहरूको माग केवल आफन्तको सुरक्षित उद्धार रहेको बताइन्।

अमात्यकी बहिनीले त्रिशूली–३ बीमा उद्धारका लागि आवश्यक अत्याधुनिक उपकरण र ‘हेभी लिफ्ट’ हेलिकप्टरको अभाव रहेको दाबी गरिन्। सरकारसँग पर्याप्त स्रोतसाधन नभए विदेशी सहयोग लिन ढिलाइ गर्न नहुने उनको भनाइ छ।

परिवारले आवश्यक उपकरण र हेलिकप्टर उपलब्ध गराइए आफूहरू समेत उद्धारमा जान तयार रहेको जनाएको छ। साथै, गृहमन्त्रीले ठोस योजना बनाएर सुरक्षा निकाय तथा उपलब्ध सबै स्रोतसाधन तत्काल परिचालन गर्नुपर्ने उनीहरूको माग छ।

Related Post