काठमाडौँ । जाजरकोटमा अविरल वर्षापछि तासुघाट खोलामा आएको बाढीले भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड अवरुद्ध हुनुका साथै झोलुङ्गे पुल, घर तथा टहरा बगाएको छ ।
नलगाड नगरपालिका–१० रोलीमा बाढीले झोलुङ्गे पुल बगाएपछि सडकसमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि तत्कालका लागि वैकल्पिक बाटोसमेत नरहेको बताइएको छ ।
इलाका प्रहरी कार्यालय रग्दाका अनुसार खोलामा पानीको बहाव बढेपछि सडक अवरुद्ध भएको हो । पुल बगिसकेका कारण प्रारम्भिक जानकारीपछि घटनास्थलतर्फ गएको प्रहरी टोलीसमेत तत्काल त्यहाँ पुग्न सकेन ।
बाढीबारे बिहान साढे ६ बजे जानकारी पाएपछि प्रहरी सहायक निरीक्षक दिनेश सुनारको कमाण्डमा चार जनाको टोली घटनास्थलतर्फ पठाइएको थियो । तर, झोलुङ्गे पुल बगिसकेका कारण टोली बीच बाटोमै रोकिएको थियो । अहिले थप प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ खटाइएको छ ।
बाढीले नलगाड–१० रोलीका पृथ्वीबहादुर विकको दुई तले घर बगाएको छ । उनका परिवारका ९ जना सदस्य सुरक्षित स्थानमा बसेका छन् ।
त्यस्तै, खैते विकको दुई तले घर र नरबहादुर विकको तीन तले घरमा समेत क्षति पुगेको छ । दुवै परिवारका १०–१० जना सदस्य सुरक्षित स्थानमा बसेका छन् । हस्त विकको दुई तले घरमा पनि क्षति पुगेको छ भने उनको ८ जनाको परिवार सुरक्षित स्थानमा रहेको प्रहरीले जनाएको छ । यस्तै, सुन्तली विकले बनाएको टिनको नास्ता पसलको टहरा पनि बाढीले बगाएको छ ।
घटनास्थल इलाका प्रहरी कार्यालय रग्दाबाट करिब एक किलोमिटर पश्चिममा पर्छ । बाढीबाट भएको थप क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।