काठमाडौँ । मनोरञ्जनका लागि आयोजना गरिएको दुबईको तीज कार्यक्रम ‘तीज धमाका सिजन–२’ बाट संकलित ५ लाख ११ हजार ७ सय ५६ रुपैयाँ भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको छ। ३० अगस्टमा पूर्वनिर्धारित कार्यक्रमअनुसार आयोजना गरिएको उक्त कार्यक्रम बाढीपछि राहत सहयोग जुटाउने उद्देश्यमा परिणत भएको हो।
लक्ष्मी ज्वेलरीको आयोजनामा भएको कार्यक्रममा नेपालबाट पुगेकी गायिका रमिला न्यौपानेसहितका कलाकारले प्रस्तुति दिएका थिए। कार्यक्रमको तयारी भइरहेका बेला भोटेकोशी नदीमा विनाशकारी बाढी आएपछि आयोजकले कार्यक्रमबाट संकलित रकम बाढी प्रभावितका लागि सहयोग गर्ने घोषणा गरेको थियो।
त्यसपछि कार्यक्रमलाई मनोरञ्जनसँगै मानवीय सहयोगको अभियानका रूपमा अघि बढाइएको आयोजकले जनाएको छ।
कार्यक्रममा सहभागी गायिका रमिला न्यौपानेले पनि आफ्नो पारिश्रमिक बाढी प्रभावितको सहयोगका लागि प्रदान गरेकी थिइन्। उनले विपद्को समयमा आफूले पनि थोरै भए पनि सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै कार्यक्रम आयोजना गर्ने आयोजकलाई धन्यवाद दिएकी छन्।
भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति हुनुका साथै हजारौँ मानिस प्रभावित भएपछि विभिन्न क्षेत्रबाट राहत तथा सहयोग जुटाउने क्रम जारी छ।