दैलेख बस दुर्घटनाको २४ घण्टा बित्दा पनि गाडी बेपत्ता, यात्रु संख्या अझै यकिन भएन

03 July, 2026 19 Views
दैलेख बस दुर्घटनाको २४ घण्टा बित्दा पनि गाडी बेपत्ता, यात्रु संख्या अझै यकिन भएन
19

१९ असार। सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा खसेको २४ घण्टा बितिसक्दा पनि गाडी फेला पर्न सकेको छैन भने गाडीमा सवार यात्रुको संख्या समेत अझै यकिन हुन सकेको छैन।

कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेतडामा बिहीबार बिहान करिब ११:३० बजे क.प्र. ०२–००१ ख १०५५ नम्बरको बुलबुले यातायात प्रालिको फोर्स गाडी सडकबाट करिब ४ सय मिटर तल कर्णाली नदीमा खसेको थियो।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्पराज रोकायका अनुसार दुर्घटनामा परेको गाडीमा कति यात्रु थिए भन्ने विवरण हालसम्म यकिन हुन सकेको छैन। प्रारम्भिक अनुसन्धानका आधारमा गाडीमा करिब ५–६ जना यात्रु सवार रहेको अनुमान गरिएको भए पनि खोज तथा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

विशेष चासोको विषय भनेको सुर्खेतदेखि दुर्घटनास्थल साङ्गेतडासम्म ४–५ वटा चेकपोस्टमा सवारी साधनको इन्ट्री हुने व्यवस्था रहे पनि यात्रुको वास्तविक संख्या अझै पुष्टि हुन नसक्नु हो।

दुर्घटनापछि बिहीबार साँझसम्म गरिएको खोजीका क्रममा गाडी फेला नपरेपछि शुक्रबार बिहानदेखि पुनः खोज तथा उद्धार कार्य तीव्र पारिएको छ। सशस्त्र प्रहरी बल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट खटिएको ६ सदस्यीय गोताखोर टोलीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेसका सुरक्षाकर्मीसहित ५० भन्दा बढी जनशक्ति उद्धारमा परिचालित छन्।

कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) जयराज सापकोटाका अनुसार लगातारको वर्षा, नदीमा आएको बाढी, बढ्दो पानीको सतह र धमिलो पानीका कारण खोजी कार्य निकै चुनौतीपूर्ण बनेको छ। दुर्घटनास्थल अत्यन्त भिरालो भएकाले नदीसम्म पुग्न समेत कठिनाइ भएको उनले बताए।

हालसम्म घटनास्थलबाट गाडीका केही सिट र ४–५ वटा मोबाइल फोन मात्र फेला परेका छन्।

दुर्घटनामा परी भीरमा अड्किएको अवस्थामा एक जनाको शव फेला परेको छ। मृतकको सनाखत कालिकोटको पचालझरना गाउँपालिका–९ निवासी ५४ वर्षीय जेखे तिरुवाका रूपमा भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

दुर्घटनाको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ भने बेपत्ता गाडी र सम्भावित यात्रुको खोजी कार्य निरन्तर जारी रहेको छ।

Related Post