काठमाडौं । थमन विक हत्या प्रकरणमा पक्राउ परेका नेकपा (एमाले) का पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
कोइरीका छोरा मनोज कुमार महतोले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनलाई तत्काल रिहा गर्न आदेश दिएको हो। सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाले जारी गरेको पत्रमा कोइरीलाई अन्य कुनै मुद्दामा थुनामा राख्नुपर्ने अवस्था नरहेको भए बिहीबार नै थुनामुक्त गर्न महोत्तरीको जलेश्वरस्थित कारागार कार्यालयलाई निर्देशन दिइएको उल्लेख छ।
यसअघि उच्च अदालत जनकपुरले थमन विक हत्या प्रकरणमा जिल्ला अदालतको फैसला उल्ट्याउँदै कोइरीलाई ५ वर्ष कैद सजाय सुनाएको थियो। उक्त फैसला कार्यान्वयनका क्रममा प्रहरीले उनलाई असार १८ गते महोत्तरीको गौशालाबाट पक्राउ गरेको थियो।यसअघि भने महोत्तरी जिल्ला अदालतले प्रमाणको अभाव देखाउँदै कोइरीलाई सफाइ दिएको थियो। तर, उच्च अदालतले जिल्ला अदालतको फैसला उल्ट्याएर दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय सुनाएको थियो।
सर्वोच्च अदालतको पछिल्लो आदेशसँगै कोइरीको थुना अवस्थाबारे नयाँ कानुनी मोड आएको छ। अदालतले अन्य कुनै मुद्दामा थुनामा राख्नुपर्ने कानुनी आधार नभए तत्काल रिहा गर्न स्पष्ट निर्देशन दिएको छ।