काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले स्मार्ट टेलिकम र एनसेलसँग सम्बन्धित प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरेको छ।
सीआईबी प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार बिहीबार साँझ पक्राउ परेका भण्डारीलाई म्याद थपका लागि जिल्ला अदालतमा पेश गरिने भएको छ।
भण्डारी २०८० फागुन ६ गते नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्त भएका थिए। अनुसन्धानका क्रममा उनकै कार्यकालमा सरकारी नियन्त्रणमा रहेको स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरी सरकारी स्वामित्व कमजोर बनाउने प्रयास भएको आरोपको छानबिन भइरहेको प्रहरीले जनाएको छ।
यसै प्रकरणमा व्यवसायी उपेन्द्र महतोलाई पनि बिहीबार सीआईबीले सोधपुछका लागि बोलाएको थियो। सोधपुछपछि उनी घर फर्किएका छन्।
सीआईबीले यसअघि यही मुद्दामा गत वैशाख २२ गते तत्कालीन स्मार्ट टेलिकमका अध्यक्ष सर्वेश जोशीलाई पक्राउ गरेको थियो। सरकारी नियन्त्रणमा आइसकेको सम्पत्ति बदनियतपूर्वक लिलामी गर्न बैंकलाई मञ्जुरी दिएको आरोप उनीमाथि छ। त्यसपछि लिलामी प्रक्रियामा संलग्न पलनी श्रेष्ठ र नरेन्द्र उलाकलाई पनि प्रहरीले पक्राउ गरेको थियो।