काठमाडौं । बडादसैंका कारण आगामी कात्तिक १ गतेदेखि ४ गतेसम्म काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने भएको छ।
काठमाडौं महानगरपालिकाका अनुसार उपत्यकाको अन्तिम फोहोर विसर्जनस्थल बञ्चरेडाँडामा उक्त चार दिन फोहोर व्यवस्थापनको काम प्रभावित हुनेछ। दसैंका मुख्य दिनमा सफाइ कर्मचारी बिदामा रहने भएकाले फोहोर संकलन तथा व्यवस्थापनमा असर पर्ने महानगरपालिकाले जनाएको छ।
महानगरपालिकाले यस अवधिमा घर, कार्यालय तथा व्यवसायबाट निस्कने फोहोर सडक र सार्वजनिक स्थानमा नफाल्न नगरवासीलाई आग्रह गरेको छ।
कामपाको वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईले कात्तिक १ देखि ४ गतेसम्म उत्पादन हुने फोहोर कुहिने र नकुहिने गरी छुट्याएर आफ्नै घर वा परिसरभित्र सुरक्षित राख्न अनुरोध गरेकी छन्।
महानगरपालिकाका अनुसार तोकिएका चार दिनबाहेक अन्य दिनमा भने फोहोर संकलन तथा व्यवस्थापनको काम नियमित रूपमा सञ्चालन हुनेछ।