काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले बाढी, पहिरो, गेग्रान बहाव र भू–क्षयको जोखिम बढ्न सक्ने भन्दै नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास र पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ। यसको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको र थप वर्षा हुने सम्भावना रहेको छ।
आज देशका हिमाली र पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने महाशाखाले जनाएको छ। यस्तै, तराईका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। तराईका केही स्थानमा पनि वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले वर्षापछि गेग्रान बहाव, बाढी, पहिरो र भू–क्षयको जोखिम बढ्न सक्ने भएकाले नदी तथा खोलानालाको आसपास बसोबास गर्ने, यात्रा गर्ने र सडक प्रयोग गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
यस्तै, प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।