काठमाडौं। रुपन्देहीको देवदह नगरपालिका–७ मा घरमा आएका २२ वर्षीय रायन खत्री क्षेत्रीलाई पेस्तोल देखाउने क्रममा गोली चल्दा उनी घाइते भएका छन् । घटना दीपक खरेलको घरमा भएको हो । प्रहरीले खरेललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार खरेलले आफ्नो साथमा रहेको पेस्तोल खत्रीलाई देखाउने क्रममा गोली चलेको थियो । गोली लागेर खत्री घाइते भएका हुन् ।
घाइते खत्रीको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्णबहादुर चन्दका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
घटनापछि प्रहरीले खरेललाई नियन्त्रणमा लिएको छ । घटनामा प्रयोग भएको पेस्तोलबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।