काठमाडौं । दसैँको पूर्वसन्ध्यामा भएको बस दुर्घटनामा एकैघरका मामा–भान्जासहित चार जनाको मृत्यु भएपछि बाँकेको खजुरा–२ एलगाउँ शोकमा डुबेको छ।
शनिबार नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्नेको एस मोडमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो।
दुर्घटनामा खजुरा गाउँपालिका–२ का ३६ वर्षीय बस चालक सुरेश बिसी, कोहलपुर नगरपालिका–३ का ३२ वर्षीय दीपेन्द्र केसी, कोहलपुर–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी र नेपालगञ्ज उपमहानगरपालिका–७ का २२ वर्षीय कृष कनौजियाको ज्यान गएको हो।
मृतक सुरेश बिसी र एकेन्द्रराज रेग्मी नाताले मामा–भान्जा हुन्। दुवै जना खजुरा–२ एलगाउँका स्थायी बासिन्दा रहेको स्थानीयले बताएका छन्। एकेन्द्र पछिल्लो समय कोहलपुरमा बस्दै आएका थिए।
स्थानीयका अनुसार सुरेश बस चालकका रूपमा कार्यरत थिए। शनिबार भान्जा सुरेशलाई साथ दिन एकेन्द्र पनि बसमा सँगै गएका थिए। दुर्घटनापछि मामा–भान्जा दुवैको मृत्यु भएको खबरले परिवारसँगै गाउँ नै स्तब्ध बनेको छ।
दुवै जनाको स्थानीय मानखोला घाटमा अन्त्येष्टि गरिएको छ।
दसैँको मुखमा भएको दुर्घटनाले खजुरा र कोहलपुर क्षेत्रमा थप शोक थपेको छ। खजुरा गाउँपालिकाका पूर्वअध्यक्ष किस्मतकुमार कक्षपतिले छोटो अवधिमै पालिकाका दुई बस चालकले ज्यान गुमाउनुपर्दा स्थानीय निकै मर्माहत भएको बताएका छन्।
यसअघि शुक्रबार कपिलवस्तुमा भएको बस दुर्घटनामा पनि खजुरा–५ का ३४ वर्षीय बस चालक सुमन खत्रीको मृत्यु भएको थियो।
दाउन्ने दुर्घटनामा मृत्यु भएका दीपेन्द्र केसी र कृष कनौजियाका परिवार तथा आफन्तजन पनि शोकमा छन्। दसैँको तयारी भइरहेका बेला भएको लगातारका दुर्घटनाले बाँकेमा चाडपर्वको उल्लासलाई शोकमा परिणत गरिदिएको छ।