नवलपरासीमा बस दुर्घटना : ६ जनाको मृत्यु, १० घाइते; एकको अवस्था गम्भीर

03 October, 2026 94 Views
नवलपरासीमा बस दुर्घटना : ६ जनाको मृत्यु, १० घाइते; एकको अवस्था गम्भीर
94

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

प्रहरीका अनुसार नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस शनिबार बिहान दुर्घटनामा परेको हो । चालकले नियन्त्रण गुमाउँदा बस सडकबाट नालामा खसेको प्रारम्भिक विवरण छ ।

बसमा चालकसहित १८ जना सवार थिए । दुर्घटनामा ६ जनाको मृत्यु भएको, १० जना घाइते भएको र दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमध्ये जाजरकोटको भेरी नगरपालिका–३ निवासी ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । अन्य पाँच जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गोरखाका ३० वर्षीय हरिशरण थापा, अछामका २८ वर्षीय तेजेन्द्रप्रसाद भण्डारी, बर्दियाकी २० वर्षीया आकृति थारू, बाजुराका ३२ वर्षीय पवन बुढा, बर्दियाका २८ वर्षीय सञ्जय थारू, बाजुराका २५ वर्षीय प्रेम बम, ललितपुरका २९ वर्षीय अनोज खत्री, बर्दियाका ३६ वर्षीय लालबहादुर कार्की, बाँकेका ४८ वर्षीय अस्लाम भगवान र सल्यानका २१ वर्षीय अनिल बुढाथोकी घाइते भएका छन् ।

प्राप्त पछिल्लो विवरणअनुसार घाइतेमध्ये अस्लाम भगवानको अवस्था गम्भीर रहेको छ । उनलाई थप उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज पठाइएको छ । बाजुराका पवन बुढालाई पनि थप उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको समाचारमा उल्लेख छ ।

दुर्घटनाको खबर पाएलगत्तै प्रहरी निरीक्षक थमन सिंह रानाको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । बसमा च्यापिएका यात्रुको उद्धारका लागि क्रेनसमेत प्रयोग गरिएको थियो । घाइतेलाई सुरुमा मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पुर्‍याइएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

घाइतेहरुको विवरण

१. जिल्ला गोरखा, गो.न.पा.-०९ बस्ने वर्ष ३० को हरिशरण थापा,
२. जिल्ला अछाम मंगलसेन न.पा. ६ बस्ने वर्ष २८ को तेजेन्द्र प्रसाद भण्डारी,
३. जिल्ला बर्दिया ठाकुरबाबा न.पा. १ बस्ने वर्ष २० की आकृती,
४. जिल्ला बाजुरा स्वामी कात्तिक गा.पा. ५ बस्ने वर्ष ३२ को पवन बुढा,
५. जिल्ला बर्दिया राजापुर न.पा. ९ बस्ने वर्ष २८ को सञ्जय थारु,
६. जिल्ला बाजुरा स्वामी कात्तिक गा.पा.१ बस्ने वर्ष २५ को प्रेम बम,
७. जिल्ला ललितपुर कुञ्जय सोमपाक गा.पा. वडा नं ५ बस्ने वर्ष २९ को अनोज खत्री,
८. जिल्ला बर्दिया बाँसगढी न.पा. ७ बस्ष ३६ को लाल बहादुर कार्की,
९. जिल्ला बाँके नेपालगञ्ज उ.म.न.पा. १६ बस्ने वर्ष ४८ को अस्लाम भगवान,
१०. जिल्ला सल्यान वनगढ कुपिण्डे न.पा. १ बस्ने वर्ष २१ को अनिल बुढाथोकी रहेका छन्।

Related Post