काठमाडौं । महाकाली नदीमा आएको बाढीका कारण कञ्चनपुरको चर्चित दोधारा–चाँदनी झोलुङ्गे पुलको बीच भाग नदीमा खसेको छ। बुधबार बिहान महाकाली नदीको बहाव बढेसँगै पुलको बीच भागमा रहेको पिलर भत्किएपछि त्यससँग जोडिएको पुलको ठूलो हिस्सा नदीमा खसेको हो। घटनापछि पुलमा आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ।
प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१३ तर्फबाट छैटौँ र दोधारा–चाँदनीतर्फबाट तेस्रो नम्बरको पिलरमा क्षति पुगेको हो। पिलरमा बाढीको तीव्र बहाव र कटानका कारण दबाब परेपछि पुलको संरचना भत्किएको प्रारम्भिक विवरण छ।
पुलको बीच भाग नदीमा खसेपछि दोधारा–चाँदनी क्षेत्र र भीमदत्त नगरपालिकाबीचको पैदल आवागमन प्रभावित भएको छ। सुरक्षाको कारण पुलमा सर्वसाधारणको आवतजावत रोकिएको हो।
यसअघि बुधबार बिहान पुलका केही भागमा फलामका पाता अस्वाभाविक रूपमा माथि उठेको देखिएपछि आवागमन रोकिएको थियो। त्यसको केही समयपछि पुलको बीच भाग पिलरबाट छुट्टिएर नदीमा खसेको स्थानीयले बताएका छन्।
महाकाली नदीमाथि रहेको यो झोलुङ्गे पुल दोधारा–चाँदनी क्षेत्रलाई भीमदत्त नगरपालिकासँग जोड्ने महत्वपूर्ण पैदलमार्ग हो। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार पुल १ हजार ४५२ दशमलव ९६ मिटर लामो छ।
पुलमा क्षति पुगेपछि सुरक्षाकर्मीले घटनास्थलको निरीक्षण तथा अवस्थाबारे जानकारी संकलन गरिरहेका छन्। नदीमा बाढीको जोखिम कायम रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।