धनगढीमा सवारी चेकजाँचमा खटिएका प्रहरीमाथि मोटरसाइकलको ठक्कर, एक प्रहरी आईसीयूमा

08 October, 2026 114 Views
धनगढीमा सवारी चेकजाँचमा खटिएका प्रहरीमाथि मोटरसाइकलको ठक्कर, एक प्रहरी आईसीयूमा
114

काठमाडौं । कैलालीको धनगढीमा सवारी चेकजाँचमा खटिएका तीन प्रहरीलाई मोटरसाइकलले ठक्कर दिँदा उनीहरू घाइते भएका छन्।

 

बुधबार साँझ धनगढी उपमहानगरपालिका–२ स्थित पेट्रोल पम्प नजिकै चेकजाँचमा खटिएका प्रहरीलाई से ३ प ८९५० नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो।घाइते हुनेमा प्रहरी सहायक हवलदार उज्जवलसिंह साउद, हवलदार राधिका शाही र सहायक हवलदार कमला खत्री छन्। साउदको खुट्टा भाँचिनुका साथै टाउको र छातीमा चोट लागेकाले आईसीयूमा उपचार भइरहेको छ। शाहीको अवस्था मध्यम र खत्रीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

 

मोटरसाइकल चालक कञ्चनपुर पुनर्वास–११ का २३ वर्षीय आशिष चौधरीले मदिरा सेवन गरी तीव्र गतिमा मोटरसाइकल चलाएको प्रहरीले जनाएको छ। चालक चौधरी र मोटरसाइकलमा पछाडि सवार १७ वर्षीय समिर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

घाइते तीनै प्रहरीको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related Post