नेपालका मौलिक उत्पादनलाई विश्व बजारमा पुर्‍याउन ब्राण्डिङ आवश्यक : मन्त्री तिमिल्सिना

08 October, 2026 64 Views
नेपालका मौलिक उत्पादनलाई विश्व बजारमा पुर्‍याउन ब्राण्डिङ आवश्यक : मन्त्री तिमिल्सिना
64

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले नेपालका मौलिक उत्पादन, सांस्कृतिक पहिचान र स्थानीय सम्भावनालाई ब्राण्डका रूपमा विकास गरी अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउनुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले नेपालमा पर्याप्त सम्भावना हुँदाहुँदै पनि त्यसको व्यावसायिक उपयोग र बजार विस्तार हुन नसकेको बताए ।

उनले देशका विभिन्न भूगोलमा उत्पादन हुने विशिष्ट वस्तु पहिचान गरी त्यसको ब्राण्डिङ, व्यावसायीकरण र बजार प्रवर्द्धन गर्न सके अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको पहुँच बढाउन सकिने धारणा राखे ।

नेपालका कुन क्षेत्रमा कुन उत्पादन विशेष छन् भन्ने पहिचान गरी त्यसलाई विश्व बजारमा प्रस्तुत गर्नुपर्ने उनको भनाइ थियो । नेपालमा उत्पादन हुने त्यस्ता वस्तु खोज्नुपर्ने उनले बताए, जसको स्वाद, गुणस्तर वा विशेषता अन्य देशमा सहजै नपाइने वा नेपालको भौगोलिक तथा मौसमी अवस्थासँग विशेष रूपमा जोडिएको हुन्छ ।

मन्त्री तिमिल्सिनाले उत्पादन पहिचान गरेपछि त्यसलाई व्यावसायिक रूपमा अघि बढाउँदै बजार निर्माणमा ध्यान दिनुपर्ने बताए । डिजिटल माध्यमको विस्तारले नेपालमै बसेर विश्वका विभिन्न देशमा उत्पादन बिक्री गर्न र अन्तर्राष्ट्रिय उपभोक्तासम्म प्रचारप्रसार गर्न सम्भव भएको उनको भनाइ थियो ।

उनले बौद्धिक सम्पत्ति तथा भौगोलिक पहिचानसँग सम्बन्धित उत्पादनको संरक्षण र प्रवर्द्धनमा पनि जोड दिए । कुनै निश्चित स्थान वा भूगोलसँग जोडिएका उत्पादनलाई प्रमाणित गरी ‘जियोग्राफिकल इन्डिकेसन’ (जीआई) लगायतका माध्यमबाट ब्राण्डका रूपमा स्थापित गर्न सके त्यसबाट आर्थिक लाभ लिन सकिने उनले बताए ।

सरकारले आफैं ब्राण्ड निर्माण गर्नेभन्दा निजी क्षेत्र र उत्पादकलाई आवश्यक वातावरण तयार पार्ने भूमिका निर्वाह गर्नुपर्ने मन्त्री तिमिल्सिनाले बताए । त्यसका लागि आवश्यक नीति, कानुन, प्रक्रिया र सहजीकरणको व्यवस्था गर्नु सरकारको जिम्मेवारी भएको उनको भनाइ थियो ।

ब्राण्डिङका क्षेत्रमा देखिएका समस्या समाधान गर्न तथा आवश्यक सहजीकरणका लागि आफू सरकारको प्रतिनिधिका रूपमा सहयोग गर्न तयार रहेको उनले बताए ।

मन्त्री तिमिल्सिनाले आगामी छ महिना, एक वर्ष वा दुई वर्षपछि हुने अध्ययनमा नेपालले ब्राण्डिङको क्षेत्रमा अहिलेभन्दा उल्लेख्य प्रगति गरेको देखिनुपर्ने बताए । त्यसका लागि उद्योग मन्त्रालयसहित सम्बन्धित निकायसँग समन्वय गरी सरकारले खोल्न सक्ने सम्भावित बाटो पहिचान गर्नुपर्नेमा उनले जोड दिए ।

Related Post