काठमाडौं । नेकपा एमालेले आगामी मंसिर पहिलो साता काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ। पार्टी सचिव महेश बस्नेतका अनुसार तल्लो तहका अधिवेशन तथा भेला सम्पन्न गरेपछि मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्न लागिएको हो। बिहीबार बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले भने, ‘मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेलाका रूपमा हामी भेला गर्छौं।’
उनका अनुसार राष्ट्रिय भेलामा पार्टीका प्रदेश र जिल्ला पदाधिकारी, पालिका अध्यक्ष तथा उपाध्यक्ष, साथै संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सहभागिता रहनेछ।
एमालेले मंसिर २६ गते वडा अधिवेशन र पुस ४ गते पालिका अधिवेशन गर्ने निर्णयसमेत गरेको छ। वडा र पालिका अधिवेशनपछि प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णय भएको बस्नेतले बताए।
स्थायी कमिटी बैठक शुक्रबार पनि दिउँसो १ बजे बस्ने उनले जानकारी दिए।
आजको बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमेत सहभागी भएकी थिइन्। उनले पार्टीको वरिष्ठ नेताको शपथसमेत लिएकी छन्।