ललितपुरको धापाखेलमा साढे दुई तले पक्की घर भासिएर खोलामा खसेको छ। लगातारको वर्षाका कारण जमिन भासिएपछि घर खोलामा खसेको हो। घर खस्दा खोला थुनिएको छ। तर, घरमा रहेका परिवारका तीन सदस्यलाई समयमै सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति भने भएको छैन।
ललितपुर महानगरपालिका–२४ धापाखेलमा स्थानीय सोबितकुमार थापाको घर जोखिममा परेको थियो। असोज ११ गते दिउँसो करिब १ः४० बजे घरको भुइँतलासँग जोडिएको ट्रसको भान्सा कोठा करिब २० मिटर तल खसेपछि मुख्य घरसमेत जोखिममा परेको थियो।
घटनाबारे जानकारी पाएलगत्तै धापाखेल प्रहरी प्रभागबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा चार जनाको टोली घटनास्थल पुगेको थियो। जोखिमको अवस्था हेरेर प्रहरीले घरमा रहेका तीन जनालाई आफन्तको घरमा सुरक्षित स्थानान्तरण गरेको थियो।
त्यसको भोलिपल्ट, असोज १२ गते बिहान करिब ६ः३५ बजे साढे दुई तले पक्की घर नै पूर्ण रूपमा भासिएर खोलामा खसेको प्रहरीले जनाएको छ। घर खोलामा खसेपछि पानीको बहावसमेत रोकिएको छ।
अहिले प्रहरी टोली घटनास्थलमा खटिएको छ। थुनिएको खोलाको पानीको निकास खुलाउने र थप जोखिम कम गर्ने काम भइरहेको ललितपुर प्रहरीले जनाएको छ।