59
चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएर गाउँ बस्तीमा आतङ्क मच्चाउँदै आएको कुख्यात जंगली भाले हात्ती ‘ध्रुवे’ फेरि गाउँ पसेर घर भत्काउन थालेपछि मध्यवर्ती क्षेत्रका बासिन्दा चरम त्रासमा परेका छन्।
केही दिनअघि मात्रै भरतपुर महानगरपालिका–२३ बेलहठ्ठामा घरमै ध्वंस गरी आमा–छोराको ज्यान लिएको ध्रुवे हात्ती आइतबार राति चितवनकै माडी नगरपालिका–१ वनकट्टास्थित बोटे टोलमा प्रवेश गरेको हो।
मध्यरातमा गाउँ पसेको हात्तीलाई स्थानीयले लखेटे पनि सोही हात्ती पुनः दीपक बोटेको घरमा पुगेर घर भत्काउन थालेपछि घरभित्र रहेका परिवारका सदस्यहरूले गुहार मागेका थिए। पछि स्थानीयवासीहरूले ट्र्याक्टरको ठुलो आवाज र उज्यालोको सहायताले हात्तीलाई जङ्गलतर्फ धपाएका कारण ठुलो मानवीय क्षति हुनबाट जोगिएको छ।
यसअघि गत असार २० गते (जुलाई ४) राति भरतपुरमा सुतिरहेकै अवस्थामा २१ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेलाई यही हात्तीले कुल्चेर मारेको थियो, जसका कारण ध्रुवेले हालसम्म ज्यान लिएका नागरिकहरूको संख्या २५ पुगेको छ।
यो नयाँ आक्रमणपछि निकुञ्ज प्रशासन, नेपाली सेना र राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली २४सै घण्टा अनुगमनमा खटिए पनि हात्तीलाई नियन्त्रणमा लिन (डार्ट गर्न) सकिएको छैन।
निकुञ्ज प्रशासनले ध्रुवेलाई डार्ट गरी उसको दाह्रा काट्ने र पुरानो जीपीएस रेडियो कलर बिग्रिएकाले नयाँ स्याटलाइट प्रविधिको रेडियो कलर जडान गर्ने तयारी तीव्र रहेको जनाइएको छ।