धवल शम्शेर र दुर्गा प्रसाईं छुट्टिँदै, छुट्टाछुट्टै पार्टी खोल्ने

14 August, 2026 62 Views
धवल शम्शेर र दुर्गा प्रसाईं छुट्टिँदै, छुट्टाछुट्टै पार्टी खोल्ने
62

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्री पद परित्याग गरेका पूर्वसांसद धवल शम्शेर राणाले आज ‘जय नेपाल पार्टी’ दर्ता गर्ने भएका छन् । नेता सगुनसुन्दर लावतीका अनुसार दल दर्ताका लागि आज मध्याह्न साढे १२ बजे निर्वाचन आयोग जाने कार्यक्रम तय भएको छ ।

प्रस्तावित पार्टीको नाम ‘जय नेपाल पार्टी’ र चुनाव चिह्न ‘त्रिभुज’ राख्ने तयारी गरिएको छ ।

राणा र दुर्गा प्रसाईंले करिब दुई महिनादेखि राजसंस्था र हिन्दु राष्ट्रको मुद्दामा सहकार्य गर्दै आएका थिए । तर पार्टीको नेतृत्व र अधिकार बाँडफाँटमा कुरा नमिलेपछि उनीहरूबीच मतभेद देखिएको छ ।

यसअघि धवल शम्शेरलाई अध्यक्ष र दुर्गा प्रसाईंलाई सर्वोच्च नेता बनाउने समझदारी भएको थियो । तर प्रसाईंले पार्टीमा आफूलाई केही कार्यकारी अधिकार दिनुपर्ने र पहिलो वरीयतामा राख्नुपर्ने माग गरेपछि विवाद बढेको बताइएको छ ।

मतभेदकै बीच प्रसाईंले धवल शम्शेरलाई लक्षित गर्दै पछिल्लो समय दिएको अभिव्यक्तिप्रति राणा पक्ष असन्तुष्ट बनेको थियो ।

लावतीका अनुसार प्रसाईं पक्षसँग बिहीबारसम्म पनि पार्टी गठनबारे छलफल भइरहेको थियो । ‘आज पार्टी दर्ता गर्न जान्छौं, प्रसाईंजीहरूसँग हिजोसम्म पनि कुराकानी भइरहेको छ,’ उनले भने, ‘दर्ताका लागि निवेदन दिएपछि थप कुराकानी हुन्छ ।’

तर प्रसाईं पक्ष भने आज निर्वाचन आयोग जाने तयारीमा छैन । प्रसाईंले सामाजिक सञ्जालमार्फत आफूहरूले छुट्टै पार्टी गठन गर्ने संकेत गरेका छन् ।

प्रसाईंले बन्ने नयाँ पार्टी सबै नेपाली नागरिक, जातजाति र धर्मको साझा पार्टी हुने दाबी गर्दै वैदिक सनातनी हिन्दु अधिराज्यसहित देशका पीडित, शोषित, उत्पीडित तथा आम नागरिकको हक, अधिकार र न्यायका लागि पार्टी समर्पित हुने बताएका छन् ।

Related Post