52
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको आफैंले चलाएको गाडी दुर्घटनामा परी दुःखद निधन भएको छ। स्थानीय तहको योजना अनुगमन गरी फर्कने क्रममा शनिबार साँझ पौने ५ बजेतिर स्वर्गद्वारी नगरपालिका वडा नं. २ बाङ्गेसल्लास्थित सडकमा उनी सवार गाडी दुर्घटनाग्रस्त भएको हो।
स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गर्दा नगरपालिकाको नाममा रहेको लु.प्र.०१-००१ झ ०००८ नम्बरको बोलेरो पिकअप जिप आफैं अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल भीरमा खसेको थियो। जिपमा एक्लै सवार रहेका ५० वर्षीय राना मगरको गाडीले च्यापिएको अवस्थामा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले पुष्टि गरेको छ।
प्युठानका प्रहरी प्रमुख डीएसपी नरहरि अधिकारीका अनुसार, दुर्घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट खाल र इलाका प्रहरी कार्यालय भिङ्ग्रीबाट प्रहरी निरीक्षक सुजनबाबु विश्वकर्माको कमाण्डमा प्रहरी टोली उद्धारका लागि तत्काल घटनास्थल खटिएको थियो।
मृतक राना मगर २०७९ सालको स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनमोर्चाका तर्फबाट उपप्रमुख पदमा निर्वाचित भएका थिए।प्रहरीले घटनाको कानुनी प्रक्रिया पूरा गरी दुर्घटनाको मुख्य कारणबारे थप अनुसन्धान अघि बढाएको छ।