काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदमा पराजित भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पार्टीप्रतिको आफ्नो निष्ठा र प्रतिबद्धता कायमै रहेको बताएका छन्।
उपसभापति पदमा खुलातर्फ उम्मेदवारी दिएका पाण्डेले १ हजार ६७३ मत प्राप्त गरेका थिए। तर, निर्वाचन परिणाम उनको पक्षमा आउन सकेन।
पराजयपछि आफ्नो धारणा सार्वजनिक गर्दै पाण्डेले निर्वाचनको परिणामले कांग्रेसका आदर्श, मूल्य–मान्यता र पार्टीप्रतिको आफ्नो निष्ठामा कुनै परिवर्तन नआउने बताएका छन्। लोकतन्त्र, समाजवाद तथा पार्टीका अग्रजहरूको त्याग र योगदानबाट स्थापित विरासतप्रति आफू प्रतिबद्ध रहेको उनको भनाइ छ।
‘उपसभापति पदको निर्वाचन परिणाम मेरो पक्षमा नआए पनि लोकतन्त्र, समाजवाद र कांग्रेसका आदर्श, मूल्य–मान्यता तथा अग्रजहरूको त्याग र योगदानबाट प्राप्त विरासतप्रतिको मेरो निष्ठा अटल छ,’ पाण्डेले भनेका छन्।
उनले निर्वाचनमा विजयी भएका नेताहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामनासमेत दिएका छन्। पार्टीलाई थप एकताबद्ध, सुदृढ र जनमुखी बनाउन नवनिर्वाचित पदाधिकारीहरू सफल हुने विश्वास उनले व्यक्त गरेका छन्।
निर्वाचनमा आफूलाई साथ, सहयोग र विश्वास गर्ने सबैप्रति आभार व्यक्त गर्दै पाण्डेले चुनावी परिणामभन्दा आपसी सम्बन्ध, सहकार्य र पार्टीप्रतिको प्रतिबद्धता महत्त्वपूर्ण हुने बताएका छन्।
कांग्रेसको विरासतलाई अझ समृद्ध बनाउँदै जनताको विश्वास जित्न सबै नेता तथा कार्यकर्ता एकजुट भएर अघि बढ्नुपर्नेमा पनि उनले जोड दिएका छन्।
उपसभापति पदको खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र मधु आचार्य निर्वाचित भएका छन्।