विप्लव नेतृत्वको नेकपामा पहिरो, रोल्पामा केन्द्रीय सदस्यसहित १३ जनाले छाडे पार्टी

23 August, 2026 49 Views
विप्लव नेतृत्वको नेकपामा पहिरो, रोल्पामा केन्द्रीय सदस्यसहित १३ जनाले छाडे पार्टी
49

रोल्पामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का केन्द्रीय सदस्य लालबहादुर वली ‘विश्व’सहित १३ जना नेता–कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन्।

गंगादेव गाउँपालिका निवासी वलीसहित उनीहरूले आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पार्टी छाडेको जानकारी दिएका हुन्। पार्टीको पछिल्लो राजनीतिक कार्यदिशा, संगठनात्मक गतिविधि र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आफूहरू पार्टीबाट अलग भएको उनीहरूको भनाइ छ।

पार्टी परित्याग गर्नेमा जिल्ला सचिवालय सदस्य नन्दे वली ‘मंगल’, जिल्ला सदस्य पूर्णबहादुर वली, गाउँपालिका सदस्य धनबहादुर केसी, तिलक महरा, मनवीर घर्ती, लोकेन्द्र डाँगी, युवा संगठन नेपालका गाउँपालिका सदस्य रुद्र केसी, हिरालाल वली, कमल वली, निर्मण वली र लेखनाथ डिसीलगायत छन्।

उनीहरूले पार्टी परित्यागसँगै सिलु नेतृत्वको नेकपामा समाहित हुने घोषणा गरेका छन्।

यसअघि रुपन्देहीमा पनि सरद वली, बसन्त श्रेष्ठलगायतका नेता–कार्यकर्ताले विप्लव नेतृत्वको नेकपा माओवादी परित्याग गरेको घोषणा गरेका थिए।

Related Post