वीरगञ्ज ।
वीरगञ्ज महानगरपालिकाका प्रमुख (मेयर) राजेशमान सिंह नागरिकतासम्बन्धी लिखत कसुर (किर्ते) मुद्दामा पक्राउ परेका छन्। जिल्ला अदालत पर्साले पक्राउ पुर्जी जारी गरेको आठौँ दिनमा जिल्ला प्रहरी कार्यालय पर्साको विशेष टोलीले उनलाई मंगलबार बिहान ६:१५ बजे पर्साको ठोरीस्थित 'ठोरी भिलेज रिसोर्ट' बाट नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठक र प्रवक्ता एवम् डीएसपी हरिबहादुर बस्नेतका अनुसार मेयर सिंह ठोरीको रिसोर्टमा लुकिछिपी बसिरहेको विशेष सूचनाका आधारमा प्रहरीले घेराबन्दी गरी उनलाई नियन्त्रणमा लिएको हो। अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनी केही दिनअघि अदालत परिसर पुगेर फरार भएका थिए।
के हो घटना?
मेयर सिंहमाथि अर्कैकी छोरी (रुविना श्रेष्ठ) लाई नक्कली सरकारी कागजात खडा गरी आफ्नै सन्तान दाबी गरेर वंशजको नेपाली नागरिकता दिलाएको गम्भीर आरोप छ।
स्थानीय बासिन्दा लियाकत अलीले २०८० सालको माघ महिनामा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्सामा किर्ते नागरिकता विरुद्ध जाहेरी दिएका थिए। वि.सं. २०७१ कात्तिक २० गते वीरगञ्ज महानगरपालिका वडा नं. ३ बाट झुट्टा विवरणका आधारमा जन्मदर्ता बनाई सोही आधारमा २०७५ साउन १३ मा पर्सा जिल्ला प्रशासनबाट ती युवतीको नागरिकता जारी गराइएको अनुसन्धानबाट खुलेको छ।
२०८० फागुनमा गृह मन्त्रालयले गठन गरेको छानबिन समिति समक्ष सिंहले सो नागरिकता प्रक्रियामा आफ्नो संलग्नता स्वीकार गरेको विवरण समेत बाहिरिएको थियो।
स्थानीय लियाकत अलीको जाहेरीका आधारमा पर्सा जिल्ला अदालतका तहसिलदार देवराज भट्टराईले गत जेठ ८ गते र पुनः जेठ १२ गते सिंहसहित अन्य संलग्न व्यक्तिहरूविरुद्ध पक्राउ पुर्जी जारी गर्ने अनुमति दिएका थिए। यसै प्रकरणमा अनुसन्धानका लागि प्रहरीले सोमबार मात्रै मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेलाई अदालत परिसरबाटै पक्राउ गरिसकेको छ।
पक्राउ परेका मेयर सिंहलाई आवश्यक कानुनी कारबाही र थुनछेक बहसका लागि आजै पर्सा जिल्ला अदालतमा उपस्थित गराउने तयारी भइरहेको पर्सा प्रहरीले जनाएको छ। नेपालको प्रचलित कानुनअनुसार सरकारी लिखत किर्ते र झुट्टा विवरण पेस गरी नागरिकता बनाएको कसुर प्रमाणित भएमा अभियुक्तलाई सात वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था छ।