198
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट २१ वर्षीय उमंग लोहनी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।
युवा पुरुष (३५ वर्षमुनि) क्लस्टरतर्फ भएको निर्वाचनमा लोहनीले सबैभन्दा धेरै मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका हुन्। उक्त क्लस्टरमा महाधिवेशन प्रतिनिधिका लागि ११ जना उम्मेदवार प्रतिस्पर्धामा थिए।
लोहनीले अन्य प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पछि पार्दै प्रभावशाली जित निकालेका हुन्।
कानुनका विद्यार्थीसमेत रहेका लोहनी विगत केही वर्षदेखि कानुन तथा नीति निर्माणका क्षेत्रमा सक्रिय रहँदै आएका छन्।
उनी नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सबैभन्दा कान्छा सदस्यका रूपमा कार्यरत छन्। साथै, कांग्रेसको बाल अधिकार उपसमितिको संयोजकको जिम्मेवारीसमेत सम्हाल्दै आएका छन्।