विराटनगरको उखुबारीमा युवकको शव फेला, हत्या गरेर फालिएको प्रहरीको आशंका

विराटनगरको उखुबारीमा युवकको शव फेला, हत्या गरेर फालिएको प्रहरीको आशंका
38

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–४ इक्राहीस्थित उखुबारीमा शुक्रबार एक युवकको शव फेला परेको छ । अन्दाजी २५ देखि २६ वर्ष उमेरका युवकको शव उखुबारीभित्र घोप्टो परेको अवस्थामा भेटिएको हो ।

प्रहरीका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन । युवकको शरीरमा कपडा यथावत् रहेको र दाहिने कानमा चोट लागेर सामान्य रक्तस्राव भएको देखिएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले युवकको शव शंकास्पद अवस्थामा फेला परेको पुष्टि गरेका छन् ।

घटनास्थलको अवस्था हेर्दा युवकको हत्या गरी शव उखुबारीमा फालिएको हुनसक्ने प्रहरीको प्रारम्भिक आशंका छ । प्रहरीले शव पोस्टमार्टमका लागि पठाउने तयारी गरेको छ ।

पोस्टमार्टम रिपोर्ट र अनुसन्धानपछि मात्रै युवकको मृत्युको वास्तविक कारण खुल्ने एसपी कटवालले बताएका छन् । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

Related Post