50
काठमाडौं । दाङको लमही नगरपालिका–९ शिवखोलानजिक पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।
बिहीबार बिहान करिब ८ः३० बजे बुटवलबाट लुम्बिनी भ्रमण गरी बाँकेको कोहलपुर फर्कँदै गरेको भे १ ख ३१३० नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
चालक र सहचालकसहित ५३ जना सवार बस दुर्घटनामा घाइते भएकाहरूको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ। प्रहरीका अनुसार सबै घाइतेको अवस्था सामान्य छ।
बसमा सवार अन्य ३१ जना यात्रु भने सकुशल रहेका छन्। उनीहरूलाई अर्को सवारीसाधनको व्यवस्था गरी गन्तव्यतर्फ पठाइएको छ।
प्रहरीले दुर्घटनाग्रस्त बस, चालक र सहचालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।