विशेष महाधिवेशनको पक्षमा कांग्रेसका २,४८८ प्रतिनिधि, कार्यवाहक सभापति खड्कालाई बुझाए हस्ताक्षर

15 October, 2025 86 Views
विशेष महाधिवेशनको पक्षमा कांग्रेसका २,४८८ प्रतिनिधि, कार्यवाहक सभापति खड्कालाई बुझाए हस्ताक्षर
86

असोज, काठमाडौं ।  नेपाली कांग्रेसका १४औँ महाधिवेशन प्रतिनिधिहरूले पार्टीको विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका छन् । बुधबार पार्टी कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन माग गर्दै संकलन गरिएको हस्ताक्षर बुझाइएको हो । कांग्रेस नेता गुरुराज घिमिरेले १४औँ महाधिवेशनका २४ सय ८८ प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै गरेको हस्ताक्षर बुझाइएको जानकारी दिए ।

विधानको धारा १७ ९२० बमोजिम महाधिवशेनका ४० प्रतिशत प्रतिनिधिहरूले कारण खुलाइ विशेष महाधिवेशनको माग गरेमा निवेदन परेको तीन महिनाभित्र बोलाउनुपर्ने वैधानिक प्रावधान रहेको उनले बताए । नेता घिमिरेले पार्टीको केन्द्रीय समितिले आफूहरूको हस्ताक्षर निवेदनका विषयमा उचित निर्णय लिने धारणा राखे । उनले नियमित महाधिवेशनको तयारीका लागि पार्टीले अग्रसरता नलिएकाले वैधानिक रूपमा महाधिवेशन गर्न आफूहरूले बाटो खोलिदिएको तर्क गरे ।

घिमिरेले आगामी निर्वाचनको तयारीका लागि पनि मंसिरभित्रै महाधिवेशन गर्नुपर्ने आफूहरूको मत रहेको उल्लेख गरे । यसअघि विशेष महाधिवेशनको माग गर्दै काँग्रेसका युवा नेताहरूले हस्ताक्षर अभियान चलाएका थिए । 

Related Post