विश्व आदिवासी दिवस मनाउँदै काठमाडौँमा प्रभातफेरी

09 August, 2026 46 Views
विश्व आदिवासी दिवस मनाउँदै काठमाडौँमा प्रभातफेरी
46

काठमाडौँ । विश्वभरका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति तथा परम्परागत जीवनपद्धतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित आज विभिन्न कार्यक्रम आयोजना गरी विश्व आदिवासी दिवस मनाइँदै छ।

दिवसका अवसरमा नेपालमा पनि विभिन्न आदिवासी जनजातिसम्बद्ध संघ–संस्था तथा समुदायले विविध कार्यक्रम आयोजना गरेका छन्। काठमाडौँमा विभिन्न संघ–संस्थाको सहभागितामा प्रभातफेरीसमेत निकालिएको छ।

संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वका ९० देशमा करिब ४७ करोड ६० लाख आदिवासी जनजाति बसोबास गर्छन्। उनीहरूको जनसङ्ख्या विश्वको कुल जनसङ्ख्याको ६ प्रतिशतभन्दा कम रहे पनि विश्वका सबैभन्दा गरिब जनसङ्ख्यामध्ये कम्तीमा १५ प्रतिशत आदिवासी समुदायका रहेका छन्।

आदिवासी जनजाति समुदायले विश्वमा बोलिने अनुमानित सात हजार भाषामध्ये ठूलो हिस्सा बोल्दै आएका छन्। उनीहरूले करिब पाँच हजार फरक संस्कृति र विशिष्ट परम्पराको प्रतिनिधित्व गर्ने संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कले देखाउँछ।

आदिवासी समुदायले पुस्तौँदेखि आफ्ना मौलिक संस्कृति, परम्परा, ज्ञान तथा मानिस र प्रकृतिबीचको सम्बन्धमा आधारित जीवनपद्धतिलाई संरक्षण गर्दै आएका छन्। उनीहरूको परम्परागत ज्ञान र अभ्यासले वातावरण संरक्षण तथा प्राकृतिक स्रोतको दिगो उपयोगमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

तर, पहिचानको संरक्षण, परम्परागत जीवनपद्धतिको निरन्तरता तथा पुर्ख्यौली भूमि, क्षेत्र र प्राकृतिक स्रोतसाधनमाथिको अधिकार स्थापित गर्ने विषयमा आदिवासी समुदायले लामो समयदेखि विभिन्न चुनौती र संघर्षको सामना गर्दै आएका छन्।

विश्व आदिवासी दिवसले आदिवासी जनजातिका अधिकार, उनीहरूको विशिष्ट पहिचान र सांस्कृतिक विविधताको सम्मान गर्दै उनीहरूले भोग्दै आएका समस्या तथा विभेदका विषयमा विश्वव्यापी रूपमा ध्यानाकर्षण गराउने अवसर प्रदान गर्दै आएको छ।

Related Post