वैदेशिक रोजगारीको प्रलोभनमा १८ लाख ठगी, तीन जना पक्राउ

16 September, 2026 175 Views
वैदेशिक रोजगारीको प्रलोभनमा १८ लाख ठगी, तीन जना पक्राउ
175

काठमाडौं । आकर्षक तलबमा वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर १८ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तेह्रथुम घर भई काठमाडौंको टोखा नगरपालिका–५ बस्ने ३५ वर्षीय नगेन्द्र भेटवाल, बर्दिया घर भई कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने ४४ वर्षीय समुन्द्रबहादुर थापा र पाँचथर घर भई कागेश्वरी मनोहरा नगरपालिका–७ बस्ने ४४ वर्षीय कुमार खतिवडा रहेका छन् ।

प्रहरीका अनुसार नगेन्द्रले जापान पठाइदिने भन्दै एक जना पीडितबाट १० लाख रुपैयाँ, समुन्द्रले कम्बोडिया पठाइदिने भन्दै ७ लाख रुपैयाँ र कुमारले यूएई पठाइदिने भन्दै १ लाख रुपैयाँ लिएका थिए । रकम लिएपछि उनीहरू सम्पर्कविहीन भएको भन्दै पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले नगेन्द्रलाई सोमबार टोखा नगरपालिका–५ बाट पक्राउ गरेको हो । समुन्द्रलाई मंगलबार कागेश्वरी मनोहरा नगरपालिका–९ र कुमारलाई सोही दिन कागेश्वरी मनोहरा नगरपालिका–७ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ ।

Related Post