काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीको विधान संशोधन गरी उपसभापतिको संख्या तीन पुर्याइए उपसभापति पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।
कांग्रेसको १५औँ महाधिवेशनले पार्टीको विधान संशोधनमार्फत उपसभापति, महामन्त्रीलगायत पदाधिकारीको संख्या बढाउने विषयमा छलफल भइरहेका बेला आङ्देम्बेको उम्मेदवारी तयारीबारे जानकारी बाहिरिएको हो।
आङ्देम्बे निकट स्रोतका अनुसार विधान संशोधन गरी उपसभापतिको संख्या तीन पुर्याइए उनले सोही पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।
यसअघि कांग्रेसका सहमहामन्त्री रहेका आङ्देम्बे हाल पार्टीको संसदीय दलको नेताको जिम्मेवारीमा छन्। संसदीय दलको नेता बनेपछि १५औँ महाधिवेशनमा उनले कुन पदमा उम्मेदवारी दिने भन्ने विषयमा कांग्रेसभित्र चासो बढेको थियो।
हाल कांग्रेसको विधानमा दुई जना उपसभापति रहने व्यवस्था छ। महाधिवेशनबाट पदाधिकारीको संख्या थप गर्ने गरी विधान संशोधन भए आङ्देम्बे उपसभापतिको दौडमा सहभागी हुने देखिएको छ।