काठमाडौं। ‘मिस नेपाल’ २०२६ को ग्रान्ड फिनालेमा सहभागी हुन ‘मिस कस्मो २०२५’ योलिना लिन्डक्विस्टसहितको टोली काठमाडौं आइपुगेको छ।
टोलीमा मिस कस्मोका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ट्रान भिएट बाओ होआङ र मिस कस्मोकी उपविजेता चेल्सी फर्नान्डेज पनि सहभागी छन्। उनीहरूलाई आयोजक संस्था द हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकार र मिस कस्मो नेपाल दीपशिखा नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्।
आयोजकका अनुसार योलिना ‘मिस नेपाल’ ग्रान्ड फिनालेमा निर्णायक (जज) को भूमिकामा रहनेछिन्। नेपाल भ्रमणका क्रममा टोलीले भक्तपुर, पाटन र स्वयम्भूलगायतका विश्व सम्पदा क्षेत्रको अवलोकन गर्नुका साथै सगरमाथाको पर्वतीय उडान पनि गर्ने कार्यक्रम रहेको छ।
टोली आगामी ३ तारिखमा स्वदेश फर्किनेछ। यसैबीच, ‘मिस नेपाल’को ग्रान्ड फिनालेको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।