युवा अभियानबाट सिधै राजनीतिमा छलाङ, दिवाकर अर्याल बने उज्यालो नेपालका महासचिव

युवा अभियानबाट सिधै राजनीतिमा छलाङ, दिवाकर अर्याल बने उज्यालो नेपालका महासचिव
83

काठमाडौँ। युवा अभियन्ता दिवाकर अर्याल उज्यालो नेपाल पार्टीको महासचिव बनेका छन्। आइतबार बसेको पार्टी सचिवालयको पूर्ण बैठकले अर्याललाई महासचिवमा नियुक्त गरेको हो। सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष कुलमान घिसिङले उनलाई औपचारिक रूपमा पार्टी प्रवेश गराएका हुन्।

ग्लोबल यूथ पार्लियामेन्टका अध्यक्षसमेत रहेका अर्यालसँगै कैलाश श्रेष्ठ, सुशील कार्की, कृष्ण रउले, कालीप्रसाद चटौत, विष्णु पराजुली र दुर्गा अर्याल केन्द्रीय सदस्यका रूपमा पार्टीमा जोडिएका छन्। युवा नेतृत्व, सुशासन र प्रणालीगत सुधारका क्षेत्रमा लामो समयदेखि सक्रिय अर्याल अब प्रत्यक्ष दलगत राजनीतिमा प्रवेश गरेका हुन्।

धादिङमा जन्मिएका अर्यालले युवालाई नीति निर्माण र सार्वजनिक बहसमा सहभागी गराउने अभियानबाट आफ्नो पहिचान बनाएका थिए। यूथ पार्लियामेन्ट नेपाल हुँदै उनले ग्लोबल यूथ पार्लियामेन्ट स्थापना गरी विभिन्न देशका युवालाई नेतृत्व विकास र सामाजिक अभियानमा जोड्दै आएका छन्। उनको योगदानका लागि नेपाल सरकारले समाजसेवा रत्न–२०७९ तथा राष्ट्रिय युवा प्रतिभा सम्मान पुरस्कार प्रदान गरेको थियो।

महासचिवको जिम्मेवारी पाएपछि अर्यालले उज्यालो नेपाल पार्टीमा विज्ञ, अनुभवी र युवा नेतृत्वको संयोजन रहेकाले देश विकासका लागि पार्टी उत्तम विकल्प बन्न सक्ने दाबी गरेका छन्। अब युवा अभियानबाट आर्जित अनुभवलाई पार्टी संगठन, नीति निर्माण र निर्वाचन राजनीतिमा कसरी रूपान्तरण गर्छन् भन्ने उनको मुख्य राजनीतिक परीक्षा हुनेछ।

Related Post