काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले युवालाई अध्ययन, संवाद र बहसबाट तथ्य तथा तर्कमा आधारित राजनीतिक धारणा बनाउन आग्रह गरेकी छन्।
मदन भण्डारी आइडोलोजी स्टुडेन्ट फोरमले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले राजनीतिक विचार समयअनुसार विकसित हुँदै जाने भएकाले युवाले जिज्ञासा राख्ने, अध्ययन गर्ने र आफ्ना विचार व्यक्त गर्नुपर्ने बताइन्। साथै, अरूका विचार सुनेर संवाद र बहसबाट आफ्नो धारणा निर्माण गर्न उनले आग्रह गरिन्।
भण्डारीले लोकतन्त्रको शक्ति आफूले भनेको कुरा मात्र स्थापित गर्नुमा नभई फरक विचारलाई सम्मानपूर्वक सुन्ने तथा तथ्य र तर्कका आधारमा दृष्टिकोण बनाउने संस्कारमा रहेको बताइन्।
उनले सामाजिक सञ्जाल, सूचना प्रविधि र विश्वव्यापी सम्पर्कका कारण आजको पुस्ता विगतभन्दा धेरै सूचना सम्पन्न भए पनि सूचना धेरै हुनु र सही ज्ञान हुनु फरक कुरा भएको बताइन्।
उनका अनुसार सूचनालाई तथ्यसँग, भावनालाई विवेकसँग र आलोचनालाई रचनात्मकतासँग जोड्ने क्षमता युवाका लागि महत्वपूर्ण छ।
पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा युवाको सहभागिता नारामा मात्र सीमित हुन नहुने बताउँदै राजनीति निर्वाचनका बेला मत माग्ने वा दिने विषय मात्र नभएको स्पष्ट पारिन्। समाज बुझ्ने, जनताको आवाज सुन्ने, नीति निर्माणमा भूमिका खोज्ने तथा देशको विकास र परिवर्तनमा रचनात्मक योगदान गर्ने निरन्तर प्रक्रिया नै राजनीति भएको उनको भनाइ थियो।