राज्यलाई स्थिरता दिन कांग्रेस र एमालेबीचको एकता हुनैपर्छ : शेखर कोइराला

सेयर गर्नुहोस्

२२ चैत, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले देशले नेपाली कांग्रेस र नेकपा एमालेबीचको एकता चाहेको बताएका छन् । उनले देश कठिन मोडमा पुगिसकेको भन्दै दुई ठूला दल कांग्रेस र एमालेले पार्टीको सिद्धान्तलाई हेरेर चुप बस्न नमिल्ने बताएका छन् । कांग्रेस र एमाले मिलेर देशको बागडोर सम्हाल्नुपर्ने उनको भनाइ छ । बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेता कोइरालाले देशमा स्थिरता दिन र विकास गर्न कांगेस र एमाले एक ठाउँमा उभिनु पर्ने बताए । अहिले देश अप्ठ्यारो परिस्थितिमा रहेको बताउँदै उनले गठबन्धनको सरकारले देशको आर्थिक विकास हुने सम्भावना नरहेको जिकिर गरे । कोइरालाले गठबन्धनले राजनीतिक स्थिरता हुन नसक्ने बताउँदै स्थिर सरकार दिनुपर्ने र यो दुई ठूला दल नमिलि नहुने बताए । 

विगतका अनुभव हेर्दा पनि नेपाली कांग्रेस र नेकपा एमाले मिलेपछि मात्रै संविधान बनेको भन्दै उनले देशलाई विकास गर्न नेकपा एमाले र कांग्रेस मिल्नैपर्ने बताए । उनले भने, ‘देश अप्ठ्यारो परिस्थितिमा छ । अहिलेको गठबन्धनले देशको आर्थिक विकास हुने सम्भावना छैन । राजनीतिक स्थिरता पनि हुँदैन भन्ने कुरा हरेक प्रदेशमा आइसकेको छ । हरेक वर्ष सरकार परिवर्तन हुन थाल्यो भने अप्ठ्यारो हुन्छ । अबको बाँकी समय कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्छ । उनले पहिलो संविधानसभाका बेला चार जना प्रधानमन्त्री कम्युनिष्टबाटै बन्दा पनि संविधान नबनेको प्रसंग उठाउँदै संविधान बनाउन नेपाली कांग्रेस र एमाले नै चाहियो, देशलाई स्थिरता दिने र विकास दिने हो भने नेपाली कांग्रेस र एमाले एक ठाउँमा उभिनु पर्ने बताए । कोशी प्रदेश सरकार अब के हुन्छ रु भन्ने सञ्चारकर्मीको प्रश्नमा कोइरालाले अहिलेको कोशी सरकार संविधानको धारा ५ बाट बनेको हो भन्ने हेक्का राख्नुपर्ने बताए । कोशी सरकार विघटन भए मध्यावधिमा जाने स्पष्ट रहेको कोइरालाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *