भैंसीको प्रतिकारमा गोठमै मर्‍यो बाघ

सेयर गर्नुहोस्

६ भदौ, हेटौंडा । मकवानपुरको मनहरीमा भैंसीले प्रतिकार गर्दा बाघ मरेको छ । गोठमा बाँधेको भैंसीलाई आक्रमण गर्ने क्रममा उल्टै भैंसीले प्रतिकार गर्दा बाघ मरेको प्रहरीले जनाएको छ । बिहीबार बिहान मनहरी गाउँपालिका–६ प्रतापुरका बलबहादुर राईको गोठमा बाँधेको भैंसीलाई आक्रमण गर्न बाघ गएको थियो । बाघ र भैंसीको जुधाजुध भएपछि घरधनीले थाहा पाएका थिए । छिमेकीहरूसहित घरधनी जब गोठमा पुगे,‘भैंसी घाइते अवस्थामा थियो, बाघ भने मरेको थियो ।’

खबर पाउनेबितिक्कै इलाका प्रहरी कार्यालय मनहरी र पर्सा वन्यजन्तु आरक्षण सुरक्षार्थ खटिएको मध्यवर्ती क्षेत्र पदमपोखरी सेक्टर लामिटार ब्यारेकबाट नेपाली सेनाको टोली घटनास्थलमा पुगेका थिए ।

‘हामी जाँदा गोठमा बाघ ढलेको अवस्थामा थियो । भैंसीको भने गर्दनबाट रगत बगिरहेको थियो,’ घटनास्थलमा पुगेर फर्किएका इलाका प्रहरी कार्यालय मनहरीका सई सन्तोष चौधरीले भने,‘बाघ बूढो–बूढो रहेछ, ‘भैंसीले प्रतिकार गर्दा मरेको हुनसक्छ । दुहुनो भैंसीको पाडो मरेको दुई दिनमात्र भएको घरधनी राईले जानकारी दिएका छन् । भैंसीले सिङले हान्दा र कुल्चिँदा बाघ मरेको हुन सक्ने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *