रुकुम पश्चिममा खोलाले बगाउदा २ जनाको मृत्यु

सेयर गर्नुहोस्

२४ भदौ, काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ६ र ७ को सिमानामा पर्ने रम्मा खोलाको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मुसिकोट नगरपालिका वडा नम्वर ६ की अन्दाजी ३० वर्षीया निर्मला केसी थापा र वडा नम्बर ४ का अन्दाजी ५० वर्षीय सर्जन पुन रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बखत बहादुर शाहीले जानकारी दिए । रा ६ प २९६१ नम्बरको मोटरसाइकल चढेर आइतबार बेलुकी साँखबाट कानेबाङतर्फ जाँदै गर्दा उनीहरुलाई खोलाले बगाएको थियो । प्रहरीका अनुसार मोटरसाइकल निर्मलाले चलाएकी थिइन् ।

उनीहरुको शव सोमबार बिहान प्रहरीले फेला परेको थियो । सर्जनको शव खोला तर्ने स्थानबाट करिब २० मिटर तल मोटरसाइकलले च्यापेको अवस्थामा र निर्मलाको शव करिब तीन सय मिटर तल शरीरको आधा भाग माटोले पुरिएको अवस्थामा फेला परेको थियो । घटनास्थलको मुचुल्का गरी शवलाई सदरमुकाम ल्याइएको छ । शव पोष्टमार्टम गरी आफन्तलाई बुझाउने तयारी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *